Saturday, March 14, 2015

मापसे गरी ट्राफिक छल्न खोज्दा भयानक दुर्घटना

मापसे गरी सवारी चलाएर ट्राफिक छल्न खोज्दा ललितपुरको सेन्ट मेरिज स्कुल पछाडिको रेलिङनै गाडीमा वारपार हुने गरी भएको दुर्घटना।

मापसे गरी सवारी चलाएर ट्राफिक छल्न खोज्दा शनिबार बिहान भयानक दुर्घटना भएको छ।  शुक्रबार राति ठमेलमा गुड फ्राइडे मनाएर ट्राफिक प्रहरी छल्दै बौद्ध जान लागेका बौद्ध स्थायी घरमा २६ वर्षीय निमा नोर्बु शेर्पा गम्भीर सवारी दुर्घटनामा परेका हुन्।




बिहान करिब ४ बजे ललितपुरको सेन्टमेरिज स्कुल पछाडिको सडकमा मापसे गरी तिब्र सवारी चलाएका शेर्पा यस्तो दुर्घटनामा परेका हुन्।
उनले विपरित लेनमा रहेको रेलिङ पुरै भत्काएका छन्। त्यतीमात्र कहाहोर उनले आफ्नो गाडीमा अगाडिबाट छिरेको रेलिङको पाइप चालक बसेकै ठाउँबाट पछाडि वारपार पारेका छन्। ‘भाग्यले र भगवानले मलाई बचायो,’ ललितपुर ट्राफिक प्रहरी कार्यालयमा एकाबिहानै भेटिएका उनले भने,‘साथीभाइसँग ठमेलमा रमाइलो गरी ताल्छिखेलबाट बौद्ध जाने क्रममा यस्तो भयो।’
उनी ठमेलमा साथीहरूसँग रमाइलो गरी ताल्छिखेल आएका थिए। त्यहाँबाट बौद्ध घर जाने क्रममा यस्तो घटना भएको हो।
यति ठूलो दुर्घटना हुँदासम्म उनलाई सामान्य चोटसमेत लागेको छैन। सिटमा रहेको कोट छेडेर पछाडि पुगेको रेेलिङको बारले उनलाई छोएन। मापसे गरी होसमा नभएका उनलाई भाग्य र भगवान दुबैले साथ दिएको हो।
रेलिङ पुरै सोहोरोरे माथिको फलामे डन्डी(तस्विरमा देखिएको) लिएर भाग्दै गर्दा पुल्चोकको हिमालय बैंक अगाडि पुगेर उनको गाडी पन्चर भएपछि बिहान डिभाइडर मिलाउन पुगेका ट्राफिक प्रहरीले खबर गरेपछि उनलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले भने।
सिनेमाका पर्दामा बाहेक यस्तो घटना नदेखेको भन्दै हाछेथुले भने,‘ भाग्य र भगवानले चालकलाई बचायो, मैलै यस्तो घटनाम सिनेमामा मात्र देखेको थिएँ।’
हाम्रो उद्धेश्य अपराधि पक्राउ गर्नु होइन, अपराध नै नहोस् भन्ने हो, हाछेथुले भने, यसरी ट्राफिक प्रहरी छल्दा आफै यस्तो घटना हुन्छ।’
बाबु आमा अमेरिकामा रहेका चालक शेर्पा सधै धगवानको तस्विरलाई सवारी प्रमाणपत्रसँगै राखेर हिड्ने गर्छन्। उनले मापसे सेवन गरी धेरै पटक सवारी चलाउँदा ट्राफिक प्रहरी कारबाहीमा परेर लाइसेन्स प्वाल परेको भएपनि यस्तो घटना पहिलो भएको बताए।
बिहानको करिब ४ बजेको हुँदो हो सेन्टमेरिज स्कुलसँगैको मन्दिर अगाडिको रेलिङ सबै सोहोरेर गाडिले लगेपछि नजिकै रोडहाउस क्याफेका सुरक्षा गार्डले विद्युत सर्ट भएर आगो लाग्यो कि भनेका थिए, ठूलो आवाज गर्दै गाडीले रेलिङ बोकेर हिँडेको उनले गाडि पर पुगिसकेपछि मात्र थाहा पाए।
रातिको समयमा ट्राफिक नहुने भएकाले मापसे गरी सवारी चलाउनेको संख्या उल्लेख्य हुन्छ, रातिको १२ बजेदेखि चार बजेसम्म सडकमा कोही नहुनाले सवारी तिब्र गतिमा कुदाउनेको संख्या पनि बढीरहेको हुन्छ।
बिहान मर्निङ वाकमा पनि कोही ननिस्किएकोले ठूलो गम्भीर दुर्घटना हुन पाएन। कोही मान्छे थियो भने जे पनि हुन सक्थ्यो।
चालक शेर्पालाई मापसे र लेन अनुशासनको  कारबाही हुने निरीक्षक हाछेथुले भने।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस