Friday, March 13, 2015

स्व. राजा वीरेन्द्रको सम्पत्ति गैरकानूनी रुपमा प्रेरणालाई दाइजो

२९ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र स्वर्गीय राजा वीरेन्द्रको हकभोगको सम्पत्तिलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई गैरकानूनी रुपमा दाइजो दिएको भन्दै नेपाल ट्रस्टको कार्यालयले त्यस सम्पत्तिलाई सरकारीकरण गरिएको स्पष्ट पारेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको नाममा कहिल्यै पनि दर्ता श्रेष्ता कायम हुन नआएको जग्गालाई छोरीको नाममा दाइजो दिन नमिल्ने भन्दै त्यस कार्यालयले दाइजो पाएको भनी सिंहले गरेको दाबी गैरकानूनी भएको बताएको छ । त्यस जग्गालाई बृहत्तर सार्वजनिक हितका लागि लगानी गरिने जवाफसेमत त्यस कार्यालयले दिएको गोरखापत्रमा खबर छ ।
‘आफ्नो नाममा नै कायम नभएको जग्गा तत्कालीन राजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिन र स्व. वीरेन्द्रको हक पुग्ने जग्गा आफूले दाइजो पाएकोले मेरो नाममा दर्ता कायम हुनुपर्ने निवेदकको दाबीमा कुनै आधार देखिँदैन्’ नेपाल ट्रस्टको कार्यालयका सचिव डा. नरबहादुर रजवारले बिहीबार सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा उल्लेख गरिएको छ ।
आफ्ना पिता तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट दाइजोस्वरुप प्राप्त गरेको एकलौटी हक भोगको काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना जग्गा र त्यसमा रहेको घरसमेत गैरकानूनी तवरले ट्रस्टको नाममा ल्याइएको भन्दै पूर्वअधिराजकुमारी सिंहले यही माघ २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस