दुईवटा घोडाले तानिरहेको रथमाथि दुलाहा सवार थिए । बागेश्वरी तित्रौना-१ स्थित डोमटोलमा विवाहको रौनकले रात रंगीन बनेको थियो । रेखाकी दिदी (काकाको छोरी) ६ वर्षीय चन्दा कुमारीको पनि आजै विवाह थियो । उनका बेहुला दिपेशकुमार सबैया टाँडीबाट टाटासुमो चढेर विवाह गर्न आएका थिए । विवाह हेर्नेको ताँती थियो ।
सुँगुरको उसिनेको मासु र लोकल रक्सीले जन्तीको स्वागत गरियो । 'खानामा माछा र भातको व्यवस्था छ,' रेखाका बाबु बीरेन्द्र राउत डोमले भने, 'विहान आफ्नै खोरको २ वटा सुँगुर ढाले ।' जन्तीका लागि ६० केजी सुँगुरको मासु, ५ ग्यालेन लोकल रक्सी र माछाको व्यवस्था गरिएको थियो । जन्तीको रमाइलो लागि बेहुली पक्षले रातभरिका लागि २० हजार रुपैयाँमा नाँच पार्टीको आयोजन गरेको थियो ।
घरको आँगनमा बाँसले निर्माण गरिएको मण्डपमा बाबुआमाले निदाइसकेका बेहुला/बेहुलीलाई काँधमा बोकेर ल्याउँदा रातको १ बजिसकेको थियो । गिलासमा पानी ल्याएर आँखामा छ्यापेपछि गोलु ब्यूँझिदा उनलाई नियालेर हेरिरहेकी रेखा हाँसिन् । ५५ हजार तय भएको तिलकमा केही रकम दिन बाँकी भएकाले दिपेशका बाबु खकन डोमले केही बेर वैवाहिक कार्यक्रम रोके थिए । सम्धी बीरेन्द्रले साताभित्रै ३ हजार रुपैयाँ बुझाउने कबोल गरेपछि वैवाहिक विधि अगाडि बढ्यो । मण्डपमा बेहुलाका बुवाआमाले बेहुलालाई काखमा लिएर विवाह सम्पन्न गराए ।
सुँगुर पाल्ने मूख्य पेशा रहेको यो समुदायका बालबालिका विद्यालय जाँदैनन् । मधेशका अन्य दलितले डोम जातिलाई 'महादलित' मान्छन् । छठ पूजा र विवाहमा प्रयोग गरिने बाँसका विभिन्न सामग्री बनाउने, अरुको खेती किसानी गर्ने, विवाहमा पारम्परिक सिँघा बाजा बजाउने सहायक पेसा हो । बस्ने सानो छाप्रोबाहेक खेत वा घडेरी नभए पनि विवाहमा यो समूदायले मन खोलेर खर्च गर्छन् । गाडी, रथ, अरकेस्ट्रा गरेर ५० हजार भाडा मात्र तिरेको गोलुका बाबुले बताए । अन्य जातिभन्दा उनीहरुसँग बढी भाडा लिने गरेको उनले गुनासो गरे । 'छोरोको विवाहमा डेढ लाख खर्च भएको छ,' उनले भने । डोम समुदायमा बालबालिका सानै हुँदा विवाह गरिदिने चलन अझै कायम छ । ठूलो भएपछि बढी तिलक-दाइजो) तिर्नुपर्ने र विवाह गर्ने जोडी पनि नपाइने सोँचले सानैमा विवाह गर्ने परम्परा रहेको समुदायका बुजुर्गले बताए । सानैमा विवाह भएपनि बेहुली १५/१६ वर्ष कटेपछि मात्र ससुराली (पतिको घर) जाने गरेका छन् ।