प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड एउटै मञ्चमा उपस्थित भएका छन् । बहुमतिय प्रक्रिया स्थगित नगरेसम्म वार्तामा नबस्ने बताउंदै आएका प्रचण्ड र वार्तामा बस्न आग्रह गर्दै आएका प्रधानमन्त्री कोइराला एउटै मञ्चमा देखिएका हुन् ।
चितवनको शिवनगरस्थित नारायणी उच्च माविको स्वर्ण महोत्सवमा दुवै नेता एउटा मञ्चमा देखिएका छन् । दुवै नेताले कार्यक्रमको संयक्त रुपमा उदघाटन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री कोइराला र प्रचण्डबीच राजनीतिक गत्यावरोध हटाउने विषयमा पनि छलफल हुने जनाएको छ ।
प्रचण्डका स्वकीय सचिव चुडामणि खडकाले भने,‘औपचारिक वार्ता गर्ने कुनै कार्यक्रम छैन तर उहाँहरुबीच राजनीतिक गत्यावारोध हटाउने विषयमा अनौपचारिक छलफल हुने कार्यक्रम छ ।
प्रधानमन्त्री कोइराला आफूले चुनाव जितेको क्षेत्रको विद्यालय र पचण्ड आफूले अध्ययन गरेको विद्यालय भएकाले सहभागी भएका हुन् ।सत्ता साझेदार दल एमालेले सरकारबाट बाहिरिने चेतावनी दिएको बेला हुन लागेको दुई नेताबीचको भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।