म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका हुन् ।
नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभाग काठमाण्डु कार्यालयबाट श्रम स्वीकृति दिलाएर फागुन १४ गते दक्षिण कोरियातर्फ जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएपछि ठगीको रहस्य खुलेको हो । यसबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।
नयाँ बानेश्वरस्थित युनाइटेड एचआर कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टरले दक्षिण कोरियाका तीनवटा पानीजहाज कम्पनीमा कामका लागि पठाइदिने आश्वासन दिएर उनीहरूबाट जनही आठ लाख उठाएको थियो ।
कन्सल्टेन्सीले पेस गरेका नक्कली कागजका आधारमा विभागको काठमाण्डु कार्यालयले श्रम स्वीकृति दिएको थियो । नेपाल र कोरिया सरकारबीच भएको श्रमसम्झौतामा ईपीएस प्रणालीअन्तर्गत मात्र नेपाली कामदार कोरियामा पठाउने व्यवस्था छ ।
वैदेशिक रोजगार विभागको नाममा एभरेस्ट बैंकमा रहेको ००१०११०२२०००४७ नम्बरको खातामा श्रम स्वीकृति लिँदा लाग्ने रकम जम्मा भएको छ । उक्त कन्सल्टेन्सीले कामदार र कोरियाली कम्पनीसँग कथित सम्झौतासमेत गराएको छ ।
सम्झौतामा प्रत्येक कामदारले प्रतिमहिना १२ सय ५० अमेरिकी डलर पारिश्रमिक र एक सय डलर अतिरिक्त सुविधा पाउने उल्लेख छ । दक्षिण कोरियाका हानहुल, सिपिङ बैंक सिओल र पेन हुल नामका तीन कम्पनीले रोजगारी सुनिश्चित गरेको भन्दै त्यो कन्सल्टेन्सीले ती ३७ जनाबाट पैसा उठाएको थियो ।
कन्सल्टेन्सीले कामदारलाई दिने अनुभवको प्रमाणपत्र पनि नक्कली बनाएको छ । उसले मुम्बईस्थित सेभेन सी नेभिगेन कम्पनीको नक्कली प्रमाणपत्र बनाएर दिएको थियो ।
अन्नपूर्ण पोष्टबाट