Monday, March 16, 2015

जुम्लामा बस दुर्घटना, १३ को मृत्यु, १५ घाइते


२ चैत, जुम्ला । जुम्लामा भएको यात्रुबाहक बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
बस दुर्घटनामा मृत्यु भएका १३ यात्रु मध्ये बस चालक सागर बुढा र सहचालक हर्क बुढाको मात्र नाम थर खुलेको छ । अन्य यात्रुहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
बसमा २९ जना यात्रु सवार थिए । बस दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लगिँदै गरेको निरीक्षक रावतले जानकारी दिए । उनका अनुसार केहीको स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जुम्लाबजारदेखि बिहान ७ बजे कालिकोटको नाग्माका लागि छुटेको कर्णाली यातायातको ना ४ ख ४९७० नम्बरको बस रारालिही गाविस-१ मा पर्ने काठ कुडेनी भन्ने ठाउँमा बिहान साढे नौ बजे दुर्घटना भएको हो ।
बस सडकबाट झन्डै दुई सय मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक इन्द्रबहादुर रावतले जानकारी दिए ।
रातभर पानी परेका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सुशील खड्काबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस