Friday, March 13, 2015

एचआइभी भएको गलत रिपोर्टका कारण एक व्यक्तिले गरे परिवारकै सखाप

एजेन्सी । एक ल्याबले दिएको गलत रिपोर्टका कारण व्यक्तिले आफ्नी पत्नी र दुई छोरीको हत्या गरेका छन् । भारतको वाशिम जिल्लाका ३९ वर्षीय प्रवीण मनवरले पत्नी र बच्चाको हत्या गरेका हुन् ।
स्थानीय एक ल्याबले उनको रगतमा एचआइभी पोजिटभ भएको  रिपोर्ट दिएपछि आवेशमा आएका उनले परिवारमा पनि एचआइभी सर्ने डरले हत्या गरेका थिए । उनी आइआइटी स्नातक हुन् । गत ३ मार्चमा परिवारको हत्या गरेका उनले गत मंगलबारमात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए । तर, प्रहरीले उनको रगत जाँच गर्दा एचआइभी पोजिटिभ भेटिएको थिएन ।
प्रवीणका अनुसार उनी दिल्लीको रेडलाइट एरियामा जाने गर्थे । ६ महिनाअघि उनको मुखमा घाउ देखियो । घाउ देखिने क्रम निरन्तर हुन थाल्यो । उनले बयानमा भनेका छन्, ‘तारन्तार घाउ देखिन थालेपछि म निकै डराए, गुगलमा समेत एड्सको लक्षणबारे खोजें । ती लक्षणहरु मेरो लक्षणसंग मेल खाए । मेरो तौल पनि कम भइरहेको थियो । त्यसपछि मैले रगत जाँच गराउँदा एचआइभी पोजिटिभ निस्कियो, रिपोर्टले म टुट्न थालें । यो कुरा मैले पत्नीलाई बताएँ । उनी निकै दुखित भइन् र दुई दिनसम्म झगडा पनि भयो, तर पछि सान्त्वना दिन थालिन् ।’
प्रवीणका अनुसार पहिले उनी एक्लै आत्महत्या गर्न चाहन्थे । त्यो कुरा पत्नीलाई समेत भने । पत्नीले स्वीकृति दिने कुरै थिएन । एचआइभीको लक्षण पत्नी र छोरीमा पनि देखिन थालेको थियो ।
त्यसपछि उनीहरु अमरावती गए । प्रवीणको योजना थियो, पहिले बच्चालाई मार्ने र पछि दुवैजनाले आत्महत्या गर्ने । उनले बयानमा भनेका छन्, ‘तर, बच्चालाई मार्न सकेनौं । त्यसपछि मैलें गुगल सर्च गरें–विना पीडा आत्महत्या कसरी गर्ने भनेर । कुनै विकल्प पाइनँ । त्यसपछि परिवारलाई नै मार्ने योजना बनाएँ ।’ त्यसपछि गत ४ मार्चमा उनले आफ्नीपत्नी, ९ वर्ष र दुई वर्षका दुई छोरीलाई कारमा लिएर बैतुल भन्ने स्थानमा लगें । कारमा पेट्रोल छर्किए  र कारमा बसेर लगेर एउटा रुखमा ठोकाए । होसमा आएपछि दुर्घटनाग्रस्त कारबाट निस्किएर आगो लगाए ।
आगो लाग्नेबित्तिकै सानी छोरीले चिच्याएर आमालाई समाइन् । तर, आफूले जल्दै गरेको कारमा पस्ने साहस जुटाउन नसकेको उनले बताए । घटनाबारे एकजना साथीलाई बताएपछि उसैको सल्लाहमा प्रहरीमा आत्मसमर्पण गरेको पनि उनले बताए । प्रहरीसमक्ष प्रवीणले भने , ‘एचआइभीको कलंकले म
लाई पत्नी र छोरीहरुको हत्याका लागि उक्सायो, म धेरै दिन जिउँदो रहँदिन, आज नभए एकदिन न एकदिन म आत्महत्या गर्छु ।’
एचआइभी पोजिटिभ नभएको खबर पाउँदा पनि प्रवीणको अनुहारको भावमा कुनै परिवर्तन आएको थिएन । प्रहरीले उनीमाथि हत्या र प्रमाण मेटाउने मामलामा मुद्दा दायर गरेको छ । नवभारतटाइम्सबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस