Friday, March 13, 2015

'अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेको छैन'

श्रेया सोताङ, गायिका 
प्रेम प्रस्ताव राख्नेहरू धेरै होलान् है? 


मलाई खास प्रेम प्रस्ताव कसैले राखेको छैन। गायिकाको हिसाबले तपाईंको स्वर मन पर्छ, तपाईं मन पर्छ भनेर फेसबुक र फोन म्यासेज पठाउनेचाहिँ धेरै छन्। प्रेम प्रस्तावसहित पत्र लेखेर दु:ख दिने खालका फ्यान अहिलेसम्म छैनन्।

पहिलो प्रेम प्रस्ताव कहिले पाउनुभएको थियो? 

मेरो कामको प्रशंसा गर्दै लेखेका चिठी धेरै पहिलेदेखि आउन थालेका हुन्। कतिपयमा त तपाईंले यसो गरे राम्रो भनेर सुझाव लेखेका हुन्छन्। त्यस्तो चिठीको रिप्लाई पनि पठाउने गर्छु।

यस्तो पत्र पाउँदा कस्तो अनुभूति भयो? 

आफ्नो राम्रो कामको प्रशंसा गर्दै लेखिएका चिठीपाउँदा खुसी लाग्नु स्वाभाविक हो।

तपाईंको बुझाइमा प्रेम के हो? 

जीवनमा प्रेम नभई एक्लै बाँच्न सकिन्न। हामीले आमाबुवासँग गर्ने माया, साथीभाइसँग गर्ने माया, दिदीबहिनी दाजुभाइसँग गर्ने माया र फ्यानसँग गर्ने माया फरक हुन्छन्। तर, सबैको आआफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ। त्यसैले प्रेम नभए मानिस एक्लो हुन्छ।

कस्तो परिस्थितिमा प्रेम गर्ने मान्छे चाहिन्छ भन्ने लाग्छ? 

प्रेम गर्न यस्तो परिस्थिति भन्ने नै हुँदैन। मानिसका लागि जुनसुकै अवस्थामा प्रेम गर्ने मानिस चाहिन्छ। हामीले जन्मेदेखि नमरुन्जेल कोही न कोहीबाट मायाको अपेक्षा गरिरहेका हुन्छौं।

आफ्नो प्रेमी कस्तो होस् भन्ने चाहनुहुन्छ? 

हुन त हाम्रो नजर सधैं अग्ला र राम्रा केटामै पर्छ। तर, तिनको बानीब्यवहार राम्रो छैन भने बाहिरी सौन्दर्यले अर्थ राख्दैन। खासगरी पार्टनरलाई बुझ्ने हुनुपर्छ।

प्रेमीको के कुराले तपाईंलाई आकर्षित गर्ला? 

महिलालाई आदर गर्ने बानी। आफ्नी प्रेमिका वा पत्नीलाई आफ्नै आमा र दिदीबहिनीलाई जस्तै आदर गर्ने मानिसले मात्रै जीवनभर साथ, सम्मान र माया दिनसक्छ भन्ने मलाई लाग्छ।

विवाहअगाडिको प्रेमलाई सुमधुर बनाउने आधार के के होलान्? 

यो आफूमा भर पर्ने कुरा हो। कसैलाई के कुरामा चित्त बुझ्छ भने कसैलाई अन्य कुरा मन पर्न सक्छ।

तपाईंलाई मन पर्ने प्रेम जोडी? 

मेरै आमाबुवा। उहाँहरूले एकअर्काको कमीकमजोरीलाई पूरा गर्नुभएको छ। उहाँहरूभन्दा नजिकबाट मैले अरूलाई नचिनेकाले बाहिरी रूपमा हेरेको भरमा राम्रो र मिलेको जोडी भन्न सकिन्न।

प्रेमको अस्तित्व नभएको भए संसार कस्तो हुन्थ्यो होला? 

प्रेमबिनाको जीवन कुनै पनि व्यक्तिका लागि क ल्पना गर्न सकिन्न। प्रेम र आत्मीयताबिना संसार चल्दैन।

धेरै सेलिब्रेटी प्रेम प्रसंगबाट चर्चामा आउँछन्, कस्तो लाग्छ?

हरेकको आआफ्नो व्यक्तिगत अधिकार हुन्छ। कसैलाई आफ्नो जीवनका सम्बन्धअरूमाझ ल्याउँदा रमाइलो लाग्छ। त्यो उहाँहरूको इच्छामा भर पर्छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस