Monday, March 16, 2015

उच्च रक्तचाप भएका महिलाले गर्भधारण अगाडी ध्यान पुर्‍याउनु पर्ने कुरा

उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्ने भएको हुनाले उच्च रक्तचाप भएका महिलाहरुले गर्भधारण अगाडी मुटु र मिर्गौलाको स्थिति कस्तो छ जचाएर मात्र गर्भधारण गर्नु उचित हुन्छ । यदि ठिक छैन भने ती अङ्गहरुको उपचार गराई गर्भधारणका लागि सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । यदि उपचार पछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आउँदैन र गर्भधारणका लागि सुरक्षित हुँदैन भने गर्भधारण गर्नु हुँदैन । यसकारण गर्भधारणका लागि उचित सल्लाह सम्बन्धित चिकित्सकसँग लिनु पर्दछ ।
यसैगरी उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गरिरहेका महिलाहरुले गर्भधारण गर्ने वित्तिकै आफुले खाई रहेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन बुझ्नु पर्ने हुन्छ । गर्भको पहिलो ३ महिना कुनै पनि औषधिको सेवन नगर्नु उचित हुन्छ किनकि औषधिले भ्रूणको अङ्ग निर्माण र विकास कार्यमा नकारात्मक असर पार्दछ । यस अवधिमा बिना औषधि रक्तचाप घटाउने विभिन्न उपायहरु (अगाडी वर्णन गरिएका उपायहरु) को अवलम्बन गर्नु राम्रो हुन्छ । यदि रक्तचाप नियन्त्रण नभई ज्यानकै लागि खतरा उत्पन्न भएमा गर्भका लागि सुरक्षित रक्तचाप नियन्त्रण गर्ने औषधिहरु प्रयोग गर्न सकिन्छ । यस्ता औषधिहरुको बारेमा चिकित्सकको सल्लाह दिने छन् ।

गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरु प्रयोग गर्दा त्यो औषधि गर्भका लागि कतिको सुरक्षित छ बुझ्नु पर्ने हुन्छ । उच्च रक्तचाप भएका गर्भवति महिलाले महिनामा कम्तिमा १ पल्ट र आवश्यकताअनुसार अझ छिटो रक्तचाप जचाउँनु पर्दछ । रक्तचाप धेरै घट्यो भने गर्भको बच्चालाई खतरा उत्पन्न हुन्छ किनकि रक्तचाप कम हुँदा बच्चाको शरीरमा रक्तसञ्चार पनि कम हुन्छ र अक्सिजन तथा खाद्य पदार्थको आपूर्ति घट्दछ । यसकारण औषधिको मात्रा एकदम मिलाएर खानुपर्ने हुन्छ । औषधिको मात्रा मिलाउन चिकित्सकले सहयोग गर्ने छन् ।
उच्च रक्तचापद्वारा पीडित गर्भवति महिलाको जिउ सुन्निएर आयो, पिसाब कम भयो, आँखा धमिलो भयो भने तुरुन्त जचाउनु पर्दछ । यो अत्यन्त खतरनाक अवस्था हो । यो अवस्था बढ्दै गएमा छारे रोगमा जस्तो जिउ बटारिने र बेहोस हुने हुन्छ । अनि आमा र बच्चा दुवैको ज्यानको खतरा हुन्छ । गर्भवति महिलाहरुमा यो स्थिति नआवोस् भन्नाका लागि उच्च रक्तचापको नियन्त्रण गर्ने, जिउ सु्न्निने र पिसाब कम हुने वित्तिक्कै चिकित्सक कहाँ गई उपचार गराउनु पर्दछ ।
डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटु रोग विशेषज्ञ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस