अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्रा सेवा रिजाल संलग्न समूहले रक्त क्यान्सर (ल्युकेमिया) का रोगीलाई किमोथेरापी निष्प्रभावी बनाउने 'आइएनपिपी फोर बी' नामक जिन पत्ता लगाएको छ।
रिजालका अनुसार आइएनपिपी फोर बी नामक जिनका कारण ल्युकेमिया (रक्त क्यान्सर) भएका व्यक्तिमा किमोथेरापीले काम गर्दैन। 'अहिले हामी त्यो जिनले कसरी किमोथेरापीलाई निष्प्रभावी बनाउँछ भन्ने पत्ता अनुसन्धान गरिरहेका छौं,' उनले भनिन्।
रिजालले आफूहरू पत्ता लगाएको विषयले ४० वर्षदेखि हुँदै आएको ल्युकेमिया उपचारको विधिलाई परिवर्तन गराउने अपेक्षा लिएको बताइन्। 'हामीले पत्ता लगाएको जानकारीबाट वैज्ञानिकहरूलाई किमोथेरापीको साटो अर्को उपचार विधि खोज्न सहयोग पुग्नेछ,' उनले भनिन्।
ल्युकेमिया भएका रोगीलाई उपचारका क्रममा किमोथेरापी दिने गरिन्छ जुन अधिकांश रोगीमा निष्प्रभावी हुने गरेको छ।
२९ वर्षीया रिजालले डा. एन्ड्रयु वेईको निगरानीमा आफ्नै नेतृत्वमा उक्त अनुसन्धान गरेको नागरिकलाई जानकारी दिइन्। उनका अनुसार बढी ल्युकेमियाका २ सयभन्दा बढी रोगीमाथि अनुसन्धान गरिएको थियो।
बोनम्यारोबाट सुरु हुने यो क्यान्सरका कारण अत्यधिक मात्रामा अपरिपक्व स्वेत रक्तकोष (ह्वाइट ब्लड सेल) बन्ने गर्छ। 'उचित उपचार नभए यस्तो बिरामीको एक सातामै निधन हुन्छ,' रिजालले भनिन्।
अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयबाट बायोमेडिकल साइन्समा विद्यावारिधि (पिएचडी) गरिरहेकी रिजालको शोध (थेसिस) ल्युकेमिया भएका बिरामीमा किमोथेरापी निष्प्रभावी हुने कारणमा केन्द्रित छ। उनको पिएचडी थेसिस पूरा भएर अन्तिम चरणमा छ। 'अहिले पत्ता लगाएको विषय पाँच वर्षको कडा मेहनतको फल हो,' उनले भनिन्।
उनको अनुसन्धान 'द ब्लड' नामक जर्नलमा प्रकाशित भएको थियो। अमेरिकाबाट सन् १९४६ देखि प्रकाशन हुँदै आएको उक्त जर्नल रगतसँग सम्बन्धित रोग, उपचार तथा अनुसन्धानका बारेमा केन्द्रित छ।
जीवनका लागि उपयोगी पनि होस् भनेर ल्युकेमेनियाको अनुसन्धान आफूले रोजेको रिजालले बताइन्। 'क्यान्सरका क्षेत्रमा धेरै कुरा बाहिर आउन बाँकी छ। त्यसले यस विषयमा अनुसन्धानको विषय छान्न उत्प्रेरित गरेको हो,' उनले भनिन्। रिजालका अनुसार उनका हजुरआमालाई पनि स्तन र थाइराइडको क्यान्सर भएको थियो। आजको नागरिकमा खबर छ ।
पुर्ख्यौली घर विराटनगर भएकी र काठमाडौंको बत्तीसपुतलीमा हुर्केकी रिजाल स्नातक तहको अध्ययन गर्न सन् २००४ अस्ट्रेलिया गएकी हुन्। उनी पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालकी नातिनी तथा गीतकार राजेन्द्रकी छोरी हुन्। उनले बुढानीलकण्ठ स्कुलबाट ए लेभल र रातो बंगलाबाट ओ लेभलको अध्ययन गरेकी थिइन्।