Friday, March 13, 2015

एमाओवादी नेतालाई ओली निवासमा भान्छा तयार

२९ फागुन, काठमाडौं । पछिल्लो समय लगभग पानी बाराबारको अवस्थामा रहेका मुलुकका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र एनेकपा माओवादीका नेताहरुबीच शुक्रबार एकापसमा मन माझामाझ भइरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी छलफलमा खुलेरै कुराकानी भइरहेको र आपसमा मन माझामाझको प्रयास भएको बैठकस्थलबाट एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए ।
‘छेउकुनामा पसेर आरोप-प्रत्यारोप किन गर्ने ? आपसमा नमिलेका कुरा बसेरै टुंगो लगाउँ भन्ने हो’ महासचिव पोखरेलले भने ‘दुई पक्षबीच लामो समयपछि खुलेर छलफल भएको छ’ ।
छलफलका सहभागीलाई ओली निवासमै लञ्चको व्यवस्था गरिएको छ । नेताहरुको भोजनका लागि खानाका विभिन्न परिकार बनाइएको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
अध्यक्ष ओली बिरामी परेका कारण केही दिनदेखि बाहिर निस्किएका छैनन् । ओलीको स्वास्थ्यकै कारण एमाओवादी नेताहरु पनि छलफलका लागि बालकोटमै गएका हुन् ।
एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले दुई दलबीच संविधानमा नमिलेका विषयमा खुला ढंगले छलफल भइरहेको बताए ।
छलफलमा एमालेबाट अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नि खरेल सहभागी छन् ।
त्यस्तै एमाओवादीबाट अध्यक्ष प्रचण्ड तथा नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी सहभागी रहेको आचार्यले बताए ।
पछिल्लो समयमा संविधान निर्माणका सन्दर्भमा एमाले र एमाओवादी आम्ने साम्ने भएर आरोप प्रत्यारोप गरिरहेका बेला नेताहरु छलफलमा जुटेका हुन् । एमाओवादीले आफ्नो आन्दोलनका क्रममा पनि एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई निशाना बनाइरहेका छन् ।
प्रमुख दलहरुबीच संविधानमा सहमति जुटाउने प्रयास स्वरुप दुई प्रमुख बामपन्थी दलबीच साझा मत बनाउने प्रयास बैठकमा भइरहेको हो ।
एमाले र एमाओवादीजस्तै शुक्रबारै कांग्रेस र मधेसवादी दलवीच पनि छलफल हुँदैछ । दुई पक्षीय छलफल सकिएपछि शुक्रबार अपरान्ह चार दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस