लामो समय जेल बसेर फर्किएपछि उनी रुद्राक्षको माला लगाउँदै धर्मकर्ममा लागेका हुन् ।
काठमाडौँको महाराजगन्ज, चक्रपथ, बसुन्धरा, सामाखुशीलाई आधार क्षेत्र बनाएर धन्दा चलाउँदै गरेका चक्रे मिलन पाप कटाउन भन्दै धर्मकर्ममा लागेको निकटस्थहरु बताउँछन् ।
विगतमा धेरै राम्रा नराम्रा काम गरेकाले ग्रह दशा बिग्रेको भन्दै उनले बिहान बिहान रुद्राक्षको माला जप्न गरेका छन्, चक्रे निकट स्रोतले भन्यो, चक्रे अहिले अधिकांश समय मठ मन्दिरमा गएर बिताउने गरेका छन् ।
लागूऔषध र अन्य एक दर्जन मुद्दाको अभियोग लागेका चक्रे पाँच बर्ष जेल बसेर छ महिनाअघि मात्रै छुटेका थिए । जेलबाट छुटेपछि पनि कुमार घैंटे र रोज राणासँग उनको राम्रो सम्बन्ध छैन । कुमार घैंटेसँग झडप हुनसक्ने आशंकाले यी दुबैलाई निगरानी गरिरहेको छ ।
डर, धाक, धम्कीका आधारमा कुनै बेला राजधानी काठमाडौँलाई आफ्नो प्रभावमा राखेर चक्रेले अवैध सम्पत्ति आर्जन गरेका थिए । उनकै निर्देशनमा अहिले अहिले पनि उनका चेलाहरुले बेला बेलामा व्यापारीलाई धम्काएर रकम असुल गर्दै आएको अपराध अनुसन्धान महाशाखाका एक अधिकारीले बताए ।
यद्यपि पछिल्ला समयमा ठूला अपराधमा चक्रेको सहभागिता देखिएको छैन् । उनी अब अपराध कर्ममा लाग्ने मनस्थितिमा पनि छैनन् । तर, प्रहरीसँगै पछि लाग्ने र सार्वजनिक रुपमा हिँड्न समेत असुरक्षा लगायतका कारण हैरानी भोग्नुपरेको भन्दै उनले निकटस्थहरु गुनासो पोख्ने गरेका छन् ।