किशोरीमाथि एसिड छ्याप्नेलाई कारवाहीको माग राख्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सडकमा ओर्लिएको छ । आइतबार एकाविहानै ट्युसन पढ्न गएका किशोरीमाथि एसिड छ्यापेर गम्भीर घाइते बनाएको चौविस घण्टा वितिसक्दा पनि अपराधि पक्राउ नपरेको भन्दै अनेरास्ववियु आन्दोलित भएको हो ।
एसिड आक्रमण मानवता विरोधी कार्य भएको र दोषी यथासिघ्र पक्राउको माग गर्दै सोमबार साँझ पाँच बजे राजधानीको आरआर क्याम्पस अघि विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको संगठनको अतिरिक्त क्रियाकलाप तथा रचनात्मक विभाग प्रमुख आरती लामाले नेपालपाटी डटकमलाई जानकारी दिइन् ।
‘समाजमा यस्ता जघन्य अपराधको श्रृङ्खला बढ्दैछ’, उनले भनिन् ‘यो र यस्ता नृशंस कार्यको विरोध गर्दै तथा यथासिघ्र दोषीलाई पक्राउको माग गर्दै प्रदर्शन गर्न लागेका हौँ ।’ उनका अनुसार सोमबारै एसिड आक्रमणमा परि गम्भीर घाइतेहरूलाई भेट्न अनेरास्ववियुकी उपाध्यक्ष नविना लामा लगायतको टोली अस्पताल पुगेको थियो । त्यस्तै उनीहरूले घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु पाँच हजार नगद सहयोग प्रदान गरेको लामाले बताइन् ।
अज्ञात समूहले बसन्तपुर झोँछे स्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा ती दुई किशोरीमाथि एसिड छयापेको प्रहरीले जनाएको छ । रामेछाप की १६ वर्षिया संगिता मगर र रौतहटकी १५ वर्षिया सीमा बस्नेतमाथि एसिड प्रहार भएको थियो । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका हुन् ।
विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पीडितहरुले बताए अनुसार मास्क लगाएर आएको ३/४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो ।
प्रहरीका अनुसार एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई विर अस्पतालमा उपचार सम्भव नभएपछि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको थियो ।