Monday, February 23, 2015

म दुवइमा काम गर्छु । मेरो उमेर ३० वर्ष भयो । मलाई दिसा नियमित हुदैन । दिसा पनि निकै कडा खालको हुन्छ । कहिले काँही दिसामा रगत पनि देखिन्छ । निकै डर लाग्छ । डाक्टरलाई जचाउन पनि पाएको छैन । के भएको होला ? लोकेन्द्र थापा, हाल दुवइ

लोकेन्द्र जी । स्वास्थ्य प्रति सजग रहनु भएकोमा धन्यवाद । कहिले काही सानो मानिएको समस्याले पनि ठुलो रुप लिन सक्छ । तपाईको समस्याअनुसार दिसा ढिलो र छिटो हुनुले पेटमा खासै फरक पर्दैन । कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ भने कसैको दिनमै ३ पटक ।
यो सामान्य कुरा हो । तर, दिसा गर्दा रगत जानु र तौल घट्नु हुँदैन । दिसासँगै जाने रगतलाई सामान्य बुझाइमा रगतमासी भनिन्छ । कहिलेकाहीँ दिसामा आलो रगत समेत जाने गर्छ । धेरैजसोले त्यसरी दिसामा रगत जानुलाई ‘पायल्स’को कारण मान्छन् । दिसामा त्यसरी रगत जानुलाई सामान्य रूपमा लिनु हुँदैन । ठूलोआन्द्राको क्यान्सरले पनि रगतमा देखिएको हुन सक्छ । कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ । कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्कौ घाउ बनिसकेको हुन्छ । त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन । यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ । पायल्सको मात्र उपचार गराएर ढुक्क भएर बस्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ । भित्रको घाउ बढ्दै जाने यता पायल्स भन्दै बस्ने गर्नाले क्यान्सर नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन सक्छ । त्यसैले दिसामा रगत देखा परेमा ‘कोलोन्सकोपी’ गर्नुपर्छ ।  डा दिनेश श्रेष्ठ, वीर अस्पताल -

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस