Sunday, February 15, 2015

महिनाबारी हुँदा स्कुल छाड्छन् छात्रा

शौचालय बनाउन दिएको रकम तलबमा
गोरखा : जीवनज्योति उच्चमावि च्याङ्लीकी मीनु श्रेष्ठ दिउँसो पढ्दापढ्दै महिनाबारी भइन् भने शिक्षकसँग बिदा मागेर घर जाने गर्छिन्। विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा उनीमात्र होइन, यहाँका अरू सामुदायिक विद्यालयका छात्रा पनि त्यसै गर्छन्।


छात्राको पढाइमा नियमितता होओस् भन्ने उद्देश्यले शिक्षा विभागले हरेक विद्यालयमा छात्रामैत्री शौचालय बनाउन बर्सेनि करोडौं खर्चिरहेको छ। तर उक्त रकम तलबलगायत विभिन्न क्षेत्रमा खर्च गरिँदा जिल्लाका अधिकांश विद्यालयका छात्रा महिनाबारी हुँदा विद्यालय जानबाट वञ्चित हुने समस्या कायमै छ।

विद्यालयमै महिनाबारी भए तत्काल बिदा मागेर घर जाने गरेको छात्राहरू बताउँछन्। 'ट्वाइलेट नै नभएको त हैन', भैरवाश्रम उच्चमावि फुजेलकी एलिजा दाहाल भन्छिन्, 'तर धेरै विद्यार्थी छन्। एउटा ट्वाइलेट छ। पानी हुँदैन, प्याडको त कुरै छोडौं। अनि घर नगई सुखै छैन।'

महिनाबारी हुने सबैजसो छात्रा यसरी नै फर्कने गरेको उनी बताउँछिन्। कोही पेट दुख्ने समस्याले पनि घर फर्कने गरेको उनको भनाइ छ। 'पेट दुखेर पनि हो तर प्याड फेर्न घर फर्कनैपर्छ', जीवनज्योति उच्चमाविकी मीनु भन्छिन्, 'पहिले मिसहरूले कक्षाकक्षामा पैसा उठाएर प्याड किनेर ट्वाइलेटमा राख्ने चलन चलाउनुभएको थियो तर त्यो एकदुई महिना पनि टिकेन। अहिले समस्या उस्तै छ।' पानी र प्याडको व्यवस्था हुने भए आफूहरू पढाइ छाडेर घर जानु नपर्ने उनको भनाइ छ।

जिल्ला विभागले शिक्षा कार्यालयमार्फत विगत ६ वर्षदेखि छात्रामैत्री शौचालय बनाउने अभियान सुरु गरेको सहायक जिल्ला शिक्षा अधिकारी जनार्दन रिजाल बताउँछन्। तर समस्या भने सदरमुकाम आसपासकै विद्यालयमा समेत यथावत् छ। '२०६७ सालदेखि शिक्षा विभागले छात्रामैत्री शौचालयको अभियान चलाएको हो', उनी भन्छन् 'गोरखामा पनि गत आर्थिक वर्षमा ४८ वटा छात्रामैत्री शौचालय बनाउन विद्यालय छनोट भएको थियो। यस वर्ष थप ६१ वटा विद्यालय छनोट भइसकेको छ।'

छात्रामैत्री शौचालय बनाउन अहिलेसम्म जिल्लाका करिब दुई सयवटा विद्यालयमा बजेट गइसकेको उनको भनाइ छ। 'दुईवटा ढोका भएको, युरिनल जोडिएको, पानी र सेफ्टीप्याडसहितको, बाहिर इन्सुलेटर बनाइएको ट्वाइलेट बनाउन बर्सेनि ५० वटाभन्दा धेरै विद्यालयलाई दुई लाख ५० हजार रुपैयाँ बजेट जान्छ', रिजाल भन्छन्, 'कोटा परेका विद्यालयमा पनि अझै यस्तो समस्या छ भने छानबिन गर्नुपर्ने देखियो।'

विद्यालयमा छात्राको नियमितता र शैक्षिक उपलब्धि बढाउन छात्रामैत्री शौचालय बनाउन दिएको बजेट व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलोमतोमा खेलमैदान, भवन बनाउने तथा शिक्षक कर्मचारीलाई तलब खुवाउने गरिएको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस