काठमाडौंमा प्रहरीले गुण्डाहरुलाई कडाई गरेपछि कहिले राजधानीबाहिर त कहिले सिंगापुर र हङकड पुग्ने गरेका घैंटे आफैले आफू करोडपति र अपराधी भएको पुष्टि गरेका छन् । आफ्नो फेसबुक पेज शोराज आइडोमार्फत उनले करोड रुपैयाँको थुप्रोमा खिचेको फोटो, अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका हुन् ।
केही दिन अघिमात्रै फेसबुकमा उनले अपलोड गरेको फोटोमा एक हजारको नोटको पैसाको बण्डल खान लागेको देखिएको छ । उनीसँग आधुनिक हतियार पनि रहेको उनी स्वयमले फेसबुकमार्फत खुलाासा गरेका छन् । पैसाको थुप्रोको अगाडि टेबलमा खुकुरी र एउटा पेस्तोल पनि प्रष्टै देखिएको छ ।
पैसा र हतियारमा शौखिन रहेको देखाउँदै डन घैटेँले फोटो सार्वजनिक गरे पनि प्रहरीले यसको अनुसन्धान गर्ने हिम्मत गरेको छैन ।
गुण्डागर्दीबाट करोडौँ रुपैंया आर्जन गरेका घैंटे पछिल्लोपटक भने ठेक्कापट्टामा लागेका छन् । घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निर्माण सेवाको नामबाट असुली सकेको प्रहरीको दाबी छ । पैसाकै आडमा प्रहरी र काँग्रेसका केही नेताहरुको आडमा उनले उन्मुक्ति पाउँदै आएका छन् । नेपाल निर्माण ब्यबसायी महासंघका महासचिव शरद गौंचनसँग पनि उनको घनिष्ठता छ । गौचनसँगको मिलेमतोमा घैटैंले ठेक्कापट्ट कब्जा गर्ने गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अझ दिनेश अधिकारी चरीको हत्या र रमेश बाहुन लागू औषधसहित जेल जलान भएपछि त घैंटेको जगजगी बढेको छ । राजधानीमा चरी र घैंटेबीच मारामारको अवस्था चलिरहेको थियो । मिलन चक्रेसँग मिलेर घैंटको समूहलाई आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा मारिएका चरी मारिएका थिए । त्यही कारण राजधानीमा आफ्नो राज चल्ने भन्दै घैंटको समूह खुशी भएको थियो ।
अहिले राजधानीमा फेरि गुण्डागर्दी बढ्न थालेको छ । चरीको इन्काउन्टरपछि चुपचाप बसेका डनहरू फेरि असुली र ठेक्कापट्टामा कब्जा गर्न फर्किएका छन् । तीन महिनाअघि मात्र जेलबाट छुटेका मिलन चक्रे फेरि असुली धन्दामा लागेको भन्दै प्रहरीले पछ्याइरहेको छ । प्रहरीका अनुसार, महाराजगंज क्षेत्रका व्यवसायीहरूलाई सताउन थालेको भन्दै चक्रेविरुद्ध उजुरीहरु आउन थालेको छ । त्यस्तै ललितपुरमा मीनकृष्ण महर्जनले कांग्रेसको आडमा धन्दा चलाइरहेका छन् । उनीविरुद्ध पनि अपराध महाशाखामा उजुरी परेको छ । शक्तिविहीन भएपछि गणेश लामा भने चुपचाप छन् । दीपक मनाङे पनि सक्रिय हुन थालेको बताइन्छ ।
- कमलराज भट्ट
दैनिक नेपाल बाट