काठमाडौं : इराकसहितका मुलुकमा आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आर्इएस) का काम खोज्दै लिबिया पुगेका इजिप्टका २१ जना नागरिकको टाउको काटेर हत्या गरेका छन् ।
लिबियाबाट अपहरित उनीहरुको टाउको काटेर हत्या गरेको भिडियो आर्इएस लडाकूले सार्वजनिक गरेका हुन् । टाउको काटेर हत्या गरेको दृश्य आर्इएस लडाकू समर्थकहरु लिबियाली जेहादीको समूले इन्टरनेटमा राखेपछि उनीहरुको हत्या भएको खुलेको हो ।
हत्या गरिएका सबैजना ईजिप्टका काप्टिक इसाइ हुन् । उनीहरुलार्इ पूर्वी लिबियाको तटीय शहर सिर्तेबाट आर्इएस लडाकूले अपहरण गरेका थिए ।
सिर्ते सहर आर्इएस लडाकूले कब्जामा लिएर आफ्नो नियन्त्रणमा राखेको छ। इजिप्टको काप्टिक गिर्जाघरले मुस्लिम महिलालाई यातना दिर्इ मार्ने गरेकाले त्यसको बदलास्वरुप उनीहरुको हत्या गरिएको आईएसको दाबी छ । ।
इजिप्ट सरकारले विद्रोहीले नियन्त्रणमा लिएको सहरबाट आफ्ना नागरिकलार्इ निकाल्ने घोषणा गरेको थियो । ती नागरिकलार्इ निकाल्नै नपार्इ आर्इएसले उनीहरुको हत्या गरेको भिडियो सार्वजनिक भएपछि इजिप्ट शोकमग्न छ ।
आफ्ना नागरिकको हत्याको खबरपछि इजिप्ट सरकारले देशमा ७ दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति अब्दुल फतह अल सिसीले आफ्ना नागरिकको हत्याको बदला लिने बताएका छन् ।
यो घटनापछि इजिप्ट सरकारले आफ्ना नागरिकलाई लिबिया जान प्रतिबन्ध लगाएको छ । यसअघि पनि इजिप्ट सरकारले आफ्ना नागरिकलार्इ लिबिया नजान भनेपनि त्यहाँ नागरिकले सरकारको आदेश अटेर गर्दा २१ जनाले ज्यान गुमाएका हुन् ।