फागुन १६ पछि समानान्तर सत्ता चलाउने निर्णय दगरेका एमाओवादी अध्यक्ष प्रचण्डको सत्ता संरचना कस्तो होला ? केही दिनदेखि लगातार प्रचण्डले अब समानान्तर सत्ता चलाउने भनिरहेका छन् । केही समयअघि उनले पाँचथर पुगेर आफू प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री घोषणा गरेका थिए ।
प्रचण्डले अबको समानान्तर सत्ता जनयुद्धकालीन नभई नयाँ हुने बताएका छन् । स्रोतका अनुसार छायाँ सरकार र छायाँ सत्ताको प्रस्ताव समेत भएको छ । जसमा समानान्तर सत्ताको प्रमुख प्रचण्ड आफैं हुनेछन् । त्यस्तै समानान्तर संविधानसभाको अध्यक्ष हालकी उपाध्यक्ष ओनसरी घर्तीलाई बनाइनेछ ।
समानान्तर प्रधानन्यायाधीश भने उनीहरुले अहिले नै घोषणा गर्नेछैनन् । स्रोतका अनुसार,सेना र प्रहरीको पनि समानान्तर संरचना बनाउने कि नबनाउने भन्नेमा प्रचण्डको मोर्चामा छलफल चलिरहेको छ ।
यसरी समानान्तर संरचना बनाउँदा सुरक्षा फौज अझ नकारात्मक हुने र त्यसले भविष्यमा असर गर्ने कतिपयको सुझाव छ । प्रचण्डसँग पूर्व प्रहरी महानिरीक्षक रविन्द्रप्रताव शाहसहित केही पूर्वप्रहरी उच्च अधिकारीहरु छन् भने सेनामा हुन नसकेका पूर्वप्रधानसेनापति कुलबहादुर खड्का ,दीपक गुरुङलगायत मोर्चाका नेताहरुले अस्वीकार गरिसकेको बताइएको छ ।
समानान्तर सरकारमा प्रचण्डले विजय गच्छदारलाई गृहमन्त्रीको प्रस्ताव गरेका छन् । परराष्ट्रमन्त्रीमा उपेन्द्र यादवलाई प्रचण्डले प्रस्ताव गरेका छन् भने अर्थमन्त्री वर्षामान पुन हुनेछन् । पासाङ शेर्पा, अशोक राई, पर्शुराम तामाङ, कुमार लिङ्देन, गंगा चौधरी, रुक्मिणी चौधरी, ओम गुरुङसमेतलाई मन्त्री बन्न प्रस्ताव गरिएको चर्चा छ । साँघुबाट