नायिका करिश्मा मानन्धरलाई १२ बर्षपछि चलचित्र निर्माणमा फर्कदा सुरुवातमै झट्का लागेको छ । करिश्माले सहकार्य गर्ने भन्दै उद्घोष गरेको गोपिकृष्णसँग उनको साथ टुटेको छ ।
काठमाण्डौमा ठूलै तामझामका साथ घोषणा गर्दा करिश्माले आफूहरुले गोपिकृष्ण मुभिजसँग सहकार्य गर्न लागेको बताएकी थिइन् । गोपिकृष्णले विभिन्न निर्माताहरुसँग सहकार्य गर्दै निर्माण गर्न लागेको ७ वटा चलचित्र मध्ये करिश्माको ‘फागु’ पनि थियो । यो सहकार्य चलचित्र छायांकन सकिनेबेलासम्म पनि टिक्न सकेन ।
आखिर किन त ? करिश्माले भनिन्– ‘हामी आँफै सक्षम भयौं त्यसैले गोपिकृष्णसँग यो पटक एकसाथ काम गर्न नसकिएको हो । उनले कथावस्तुमा पनि केही परिवर्तन गरेका कारण पनि गोपिकृष्णसँग सहकार्य हुन नसकेको तर्क सुनाईन् ।’ करिश्माले भविष्यमा भने गोपिकृष्णसँग काम गर्न सकिने बताएकी छिन् ।
यो चलचित्रसँग गोपिकृष्ण मुभिज अलग हुनुको पछाडि निर्देशक सम्झना उप्रेती रौनियार रहेको बुझ्नमा आएको छ । श्रोतका अनुसार सम्झनाकै कारणले करिश्माले गोपिकृष्णसँगको साथ छाड्नु परेको हो । चलचित्र नगरीमा फिल्मकर्मीसँग राम्रो सम्बन्ध बनाउन नसक्ने सम्झना गोपिकृष्णसँगको सहकार्यकी मुख्य वाधक बनेको श्रोतको दाबी छ ।
गोपिकृष्ण मुभिजको ब्यानर लिएर करिश्माले बनाउन लागेको चलचित्र ‘फागु’को हाल बिरगञ्जमा छायांकन भैरहेको छ । चलचित्र फागुमा राजेश हमाल, गौरी मल्ल, शिल्पा पोखरेल, सुवास पराजुली, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय छ ।