काठमाडौँ, १९ फागुन । तीन महिनादेखि थाई जेलमा रहेका पूर्वयूवराज पारस शाहसँग त्यहाको अदालतले अनौठो प्रमाण मागेको छ । सेरेमोनियल भएपछि शक्तिशाली राजतन्त्र रहेको थाइल्याण्डमा उनलाई नेपालको पूर्वयूवराज भएको प्रमाण मागिएको छ । नेपाल सरकारबाट उनले आफु पूर्वयूवराज भएको प्रमाणित चिठी अदालतमा पेश गर्न सके उनी एक महिनाभित्रै छुट्ने सम्भावना छ ।
मंगलबार प्रकाशित दृष्टि साप्ताहिक लेख्छ – पारसका साथीहरुले मौखिक रुपमा त्यसबारे दुतावासमा कुरा राखेका छन् । लिखित रुपमा भने त्यस्तो निवेदन नआएको बैंककस्थित नेपाली दुतावासका कन्सुलर डोरनाथ अर्यालले बताए । साथीभाई नभई पारसका परिवारले त्यसबारेमा निवेदन दिएमात्र त्यसउपर निर्णय गर्ने सोच दुतावासका अधिकारीले बनाएका छन् ।
पारसलाई सहयोगग गर्दै आएका बैंककस्थित नेपाली युवा सुनिल खड्काका अनुसार नेपाली दुतावासमा पारसलाई पूर्वयूवराज प्रमाणित गरिदिन आग्रह भइसकेको छ ।
प्रेमिका कोन्निकाको गृहनगर नामखाई जाँदा तीन महिनाअघि पारस तीन थरी लागूऔषधसहित पक्राउ परेका थिए । सुरुमा धरौटीमा उनी छुटेका थिए । पछि अदालत र प्रहरीमा घुसको कुरा नमिलेपछि उनलाई पुर्पक्षका लागि थुनामा हालिएको थियो ।
पूर्वयूवराज्ञी हिमानी गत साता पारसलाई भेट्न थाइल्याण्ड गएकी थिइन् । तर पूर्वराजा ज्ञानेन्द्र शाहले फोनमा बेला बेलामा बुझ्ने बाहेक पारसको बारेमा धेरै चासो लिन छाडेका छन् । थाई प्रेमिका छाडेर नेपाल आउन पटक पटक आग्रह गर्दा पनि पारसले नमानेपछि ज्ञानेन्द्र रिसाएका हुन् ।
दुई वर्षअघि गम्भीर किमिसको हृदयघातबाट गम्भीर बिरामी भएको बेला पूर्वराजा र पूर्वरानी बैंकक गएका थिए । उपचारपछि नेपाल ल्याउने उदेश्यका साथ राजपरिवार त्यसबेला बैंकका गएका थिए । तर पारस फर्किन नचाहेपछि ज्ञानेन्द्रको मन दु:खेको स्रोत बताउछ ।
त्यसयता पारस तीन चोटी पक्राउ परिसकेका छन् । पहिलोचोटी लागूऔषधसँगै पक्राउ परेकोमा उनी धरौटीमा छुटेका थिए । दोस्रो पटक रेष्टुरेन्टमा झगडा गरेको घटनामा पक्राउ पर्दा क्षतीपुर्ती तिरेर उनी छुटेका थिए भने पछिल्लो चोटी पक्राउ पर्दा उनी जेल नै जानुपर्ने अवस्था आएको थियो ।
उनकी प्रेमिका कोन्निकाले नै प्रहरीलाई सूचना दिएर पक्राउ गराएको बैंककस्थित पारस निकट नेपालीहरु बताउछन् । पारस एक्लै गाडिमा घुम्न निस्केका बेला सुराकीको आधारमा पिछा गरेर पारसलाई त्यहाको प्रहरीले पक्राउ गरेको थियो । पारसको बारेमा उक्त ठाउँमा अरु व्यक्तिलाई थाहा नहुने भएकाले कन्निकाले नै पक्राउ गराएको बताइन्छ । पछि प्रहरीलाई मोटो रकम घुस दिएर आफैंले छुटाउने र त्यसवापत कमिसन पाइने भएकाले उनले त्यसो गराएकी हुन् । अघिल्लो पटक पनि उनलै पारसका विवादहरु मिलाउने गरेकी थिइन् ।