Sunday, March 15, 2015

भाँडा माझेको पैसाले अस्पतालको चार लाखको बिल कसरी तिरौँ ?

काठमाडौं, चैत १ – ‘भाँडा माझेर कमाएको १ लाख ५० हजार रुपैयाँ पनि ग्राण्डी अस्पतालमा बुझाइसकेँ । अहिले अस्पतालको बिल चार लाखको छ, तर खल्तीमा ४ सय रुपैयाँ छैन, न त छोरीको उपचारको लागि अहिलेसम्म अरु कसैले सहयोग गरेका छन् ।
कति दिन त खाना खाने पैसा नभएर भोकभोकै पनि बस्नुपरेको छ । कहिलेकाँही भने नजिकैको बिरामीका आफन्तले दिएको खानाले आफ्नो पेट भरेको छु ।’ यति भनिसक्दा सरस्वतीको अनुहार निकै अमिलो भइसकेको थियो ।     गत माघ १० गते घरमाथिबाट खसेर गम्भीर घाइते बनेकी १८ महिने छोरी जेनिशा भण्डारीको उपचारमा व्यवहोर्नुपरेको पिडामा कसैको सहयोग भएमा आफू उनीहरुप्रति कृतज्ञ हुने सरस्वती भण्डारी बताउँछिन् । गोंगवुको लक्की गेष्ट हाउसको चौथो तलाबाट गेटको माथि रहेको फलामको सुलीमा परेकी जेनिशा यतिबेला जीवनमरणको दोसाँधमा छिन् । आर्थिक अवस्था कमजोर हुँदा पहिलो अप्रेशन भएपनि उनको दोस्रो अप्रेशन भने हुन सकेको छैन । दुर्घटना भएलगत्तै जेनिशालाई पहिले विनायक अस्पताल गोंगवु लगिएपनि त्यहाँ उपचार हुन नसक्ने बताएपछि इशान बाल अस्पताल लगिएको थियो । तर त्यहाँ पनि उपचार नहुने बताएपछि जेनिशालाई ग्राण्डी इन्टरनेशनल अस्पतालमा राखिएको छ । तत्काल उपचार सुरु गरेकाले अहिले जेनिशाको स्वास्थ्यमा केही सुधार आएता पनि अस्पतालमा उठेको चार लाख बिलमा एक लाख पचास हजार मात्र बुझाएकाले जेनिशाको अर्को अप्रेसन भने हुनसकेको छैन । उपचारको क्रममा जेनिशाको मृगौला पनि चारवटा भएको थाहा पाइयो । तर दुर्घटनामा परेपछि उनको दायाँपट्टीको एउटा मृगौलाले कामै गर्न छाडेको छ भने अर्को मृगौला पनि फाल्नुपर्ने अवस्थामा छ । यसका साथै उनको पेटमा पनि पाइप राख्नुपर्ने अस्पतालका वरिष्ठ सर्जन आर पी चौधरीले बताएका छन् । जेनिशाको स्वास्थ्यमा पूर्ण सुधार ल्याउन करिब ८ लाख लाग्ने अस्पताल प्रशासनले बताएको छ । तर जेनिशाकी आमा सरस्वतीसँग पर्याप्त रकम नहुँदा उनको उपचार रोकिएको छ । शनिबार अस्पतालको बेडबाट उनले रुँदै भनिन्, ‘मेरी छोरीको ज्यान बचाइदिनुस् ।’ पीडित बालिकाकी आमा सरस्वतीले २०६८ साल चैतमा दाङ तुलसीपुरका विजय भण्डारीसँग प्रेमविवाह गरेकी थिइन् ।
तर जेनिशा दुई महिनाको गर्भमै रहँदा २०६९ साल पुषदेखि विजय उनीहरुलाई छाडेर वेपत्ता भए । माइतीघर भारतको आसाम रहेकी नेपालीमूलकी सरस्वतीले ज्याला मजदुरी गर्दै छोरी जेनिशालाई जन्म दिएकी थिइन् । अहिले पनि सरस्वतीले गोंगवुको एक होटलमा भाँडा माझ्ने तथा सरसफाइको काम गरेर आफ्नो र छोरी जेनिशाको जीवन चलाइरहेकी थिइन् । आफ्नो कथा सुनाइरहँदा उनी पटकपटक भक्कानिएर रोइन् । जसरी हुन्छ छोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपनामा यतिबेला बज्रपात परेको छ । त्यसैले उनले आम नागरिकलाई सहयोगका लागि आग्रह गरेकी छिन् । आफ्नो बैंक खाता पनि नभएकाले उनको मोबाइल नम्बर ९८१३६४०५५० मा सम्पर्क गर्न वा ग्राण्डी अस्पतालको फोन नम्बर ४३८०२२३ मा सम्पर्क गर्न सरस्वतीले आग्रह गरेकी छिन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस