Monday, March 2, 2015

पीडितको असहयोगले एसिड छ्याप्नेलाई पक्राउ गर्न सकिएन : गृहमन्त्री

काठमाडौं, फागुन १८ – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पीडित किशोरीले सहयोग नगरको कारण एसिड आक्रमणका दोषीलाई पक्राउ गर्न नसकिएको बताउनुभएको छ ।
व्यवस्थापिका संसदलको सामाजिक न्याय तथा मानवअधिकार समितिले दुई किशोरीमाथि भएको एसिड आक्रमणका दोषीलाई पक्राउ गर्न ढिलाइ गरेको विषयमा छलफल गर्न सोमबार बोलाएको बैठकमा गृहमन्त्री गौतमले प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेपनि किशोरीले घटनामा संलग्नको बारेमा कुनै जानकारी दिन नमानेका कारण सफलता हाल नलागेको बताउनुभयो ।
उहाँले एसिड प्रहार र आपराधिक गतिविधिमा संलग्नको पहिचानका लागि ट्युसन सेन्टर,  पार्टी प्यालेस लगायतका स्थानमा अनिवार्यरुपमा सिसिटिभी राख्ने व्यवस्था मिलाउनका लागि निर्देशन दिन समितिलाई सुझाव दिनुभयो ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले  दुई किशोरीमाथि भएको एसिड आक्रमणका दोषीलाई पक्राउ गर्न ढिलाइ गरेकामा आपत्ति जनाउँदै दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बैठकमा बोलाएर एसिड आक्रमणका दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो ।
समितिले काठमाडौंको केन्द्रमा भएको घटनाका दोषीलाई पक्राउ गर्न ढिलाइ गरिनुले घटनाप्रति सरकार कतै गम्भीर नभएको त होइन भनेर प्रश्न गरी दोषीलाई कारबाहीको दायरामा ल्याएर आफू गम्भीर रहेको देखाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
काठमाडौंको बसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्र पढिरहेका दुई किशोरी सीमा बस्नेत र संगिता मगरमाथि एसिड प्रहार भएको एक हप्ता भैसक्दापनि सरकारले एसिड प्रहारमा संलग्नको पहिचान गर्न सकेको छैन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस