राजश्री नामकी बलात्कृत युवतीले दिलिप बेहेरा नामका बलात्कारी युवकसँग विवाह गरेकी हुन् । बलात्कार अभियोगमा दिलिप जेलमा छन् । उनीहरुबीच जेलमै विवाह भएको थियो ।
गत २८ जनवरीमा भुवनेश्वरको झारपडा जेल प्रमुख रविन्द्रनाथ स्वाईँको उपस्थितिमा जेलभित्रै भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जेल प्रशासनका अधिकारी, युवतीका परिवारिक सदस्य र कैदीहरुका बीचमा दिलिपले राजश्रीको सिउँदोमा सिन्दुर हालेका थिए । विवाहमा युवकतर्फका आफन्त भने उपस्थित थिएनन् ।
विवाहपछि राजश्रीले आफ्ना पतिविरुद्ध अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने घोषणा गरिन् । दिलिपले आफ्नो पुरै ख्याल गर्ने बाचा गरेपछि मात्र आफू विवाहका लागि तयार भएको उनको भनाइ थियो ।
२०१४ को जनवरीमा दिलिपले बाटो हिँडिरहेकी राजश्रीलार्इ जबर्जस्ती ट्रकमा राखेर सुनसान ठाउँमा पुर्या एपछि बलात्कार गरेका थिए ।
घटना भएको केही दिनपछि राजश्रीका बुवाले भुवनेश्वर नजिकैको चन्दका पुलिस कार्यालमा जाहेरी दिएपछि पुलिसले दिलिपलार्इ गिरफ्तार गरी मुद्दा चलाएको हो ।
राजश्रीका आफन्तले बलात्कारीसँग विवाह गरिदिनु आफूहरुको बाध्यता भएको बताए ।
समाजमा बेइज्जत हुने र जीवनभार पीडा ब्याहोर्नुपर्ने भएकाले छोरीको बिहे बलात्कारी युवकसँग गराइदिएको उनका बाबुले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।