Sunday, February 15, 2015

गंगामायाले पाइन् एकमुष्ट २० लाख

आइतबार, फाल्गुण ३
सरकारले गोरखा फूजेलकी गंगामाया अधिकारीलाई विशेष राहत स्वरुप एकमुष्ट बीस लाख रुपैयाँ दिएको छ । बीस लाख बाहेक उनको जीवनयापनको लागि मासिक रुपमा आउने गरी एक करोड रुपैयाँ बैंकमा राखिदिएको छ ।

शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिव खुमराज पुञ्जालीका अनुसार मन्त्रालयको बैंक खातामा जम्मा गरिएको एक करोड रुपैयाँको ब्याज रकम मात्रै उनले लिन पाउने गरी अर्थ मन्त्रालयले शान्ति तथा पुननिर्माण मन्त्रालयको नाममा रकम निकासा गरेको हो ।

मन्त्रिपरिषद्ले गत कात्तिक १० गते गरेको निर्णय उनलाई विशेष राहत स्वरुप रकम दिने निर्णय गरेको थियो । सचिव पुञ्जालीले भने ‘सरकारको निर्णय अनुसार रकम आइसकेको छ । केही दिनमै रकम हस्तान्रण गर्छौं ।’

अर्थ मन्त्रालयले आइतबार शान्ति तथा पुनर्निमाण मन्त्रालयको नाममा गंगामायाको नाममा दिने रकम निकासा गरेको छ । छोरा कृष्णप्रसादको हत्यामा संलग्नको कारबाहीको माग गर्दै अनशन बसेकी गंगामायाले छोराको हत्यामा संलग्नलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाएपछि गत असोज मसान्तमा अनशन तोडेकी थिइन् । उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो ।

अनशन तोडेपछि पनि गंगामायाको उपचार वीर अस्पतालमा भइरहेको छ । रकम निकासा भएपछि शान्ति तथा पुननिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले आइतबार अपरान्ह वीर अस्पताल गइ गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारको निर्णय पनि जानकारी गराएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस