३० दलीय मोर्चाले शनिबार राजधानीमा ‘भण्डाफोर र खबरदारी’ अन्तर्गत सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । विगतमा गरिएको शान्ति सम्झौता, २०६२/६३ को आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति महासंघ लगायतसँग भएका सम्झौताहरुलाई बेवास्ता गर्दै कांग्रेस-एमाले गठबन्धन अगाडि बढेका भन्दै ३० दल आन्दोलन गरेका हुन् ।
प्रदर्शनमा संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले सभामुखलाई ‘धमिलो पेट भएका’ भन्दै विगतमा एउटा दलले रोष्ट्रम घेर्दा पनि बैठक स्थगित गर्ने सभामुख १९ दलले रोष्ट्रम घेर्दा पनि प्रक्रिया अगाडि बढाइरहेको भन्दै आक्रोश व्यक्त गरे।
कोणसभालाई एमाओवादीकी हिसिला यमी, संघिय समाजवादीका राजेन्द्र श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै उनीहरुले विगतका सम्झौतालाई सम्बोधन नगरी सरकारसँग वार्ता नगर्ने अडान दोहोर्याएका छन्। गठबन्धनले प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक वार्तामा आउन गरेको सम्बोधनमा पनि कुनै नयाँ कुरा नआएकोले वार्तामा बस्नुको औचित्य नरहेको बताएका छन्।
राजधानीको भृकुटी मण्डपबाट सुरु भएको जुलुस शहिद गेट-जमल-घण्टाघर हुँदै रत्नपार्कको शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।