Friday, February 20, 2015

तयारी खानाबाट बेफाइदै बेफाइदा

औषधिका विभिन्‍न अध्ययन र अनुसन्धान गर्न मुसा र बाँदरलाई प्रयोग गरिन्छ। जनावरमा प्रयोग गरेपछि मात्र औषधि मानव स्वयम्सेवकमा गरिन्छ।

यसरी अनुसन्धान गर्दा यदि बाँदर र मुसामा सकारात्मक प्रभाव देखिएमात्र मानव स्वयम्सेवकमा प्रयोग गरिन्छ र त्यसपछि मात्र औषधि प्रयोग गर्न सकिने कि नसकिने भनेर निर्णय गरिन्छ।


कुनै औषधि वा भोजनको यदि जनावर, बाँदर वा मुसामा नकारात्मक प्रभाव पर्‍यो भने त्यसले मानवलाई सकारात्मक असर त पक्कै पार्दैन।

अन्नपूर्ण पोस्ट्का समाचारअनुसार 'पत्रु' खानाले बाँदरहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको समाचारको शीर्षकमा बाँदरको सट्टामा यदि बालबालिका र वयस्कको स्वास्थ्यमा नकारात्मक प्रभाव भनेर प्रकाशित गरेको भए पनि फरक पर्दैनथियो होला।

जसरी पत्रु खानाले बाँदरलाई फोस्को मासु दिन्छ, कुपोषण गराउँछ, मानसिक रूपमा अस्वस्थ बनाउँछ। ठ्याक्कै त्यस्तै स्वास्थ्य समस्या बच्चाहरूलाई पर्छ भन्ने कुराको हेक्का आधुनिक माता पिता चाहे शिक्षक, चाहे कर्मचारी, चाहे मजदुर चाहे ट्याक्सी चालकलाई, चाहे गैरसरकारी संस्थामा कार्य गर्ने जो कसैलाई किन नभएको होला?

बारम्बार पत्रु खानको नकारात्मक असरको बारेमा पत्रपत्रिकामा आइरहन्छ। तर डा. मुकेश चालिसेले जस्तो पशुपति र स्वयम्भूका बाँदरमा जस्तो अध्ययन गरेर त्यो अध्ययनलाई यसरी प्रस्तुत गरिएको छैन होला। तर सानातिना अध्ययनहरू त भएकै छन्।

बट्टामा पाइने विभिन्न फलफूलको रसले पनि बालबालिकाको स्वास्थ्यमा नराम्रो असर नै हुन्छ तर यस्तो पत्रुरसको बारेमा विज्ञापनले गर्दा आमाबाबु र बालबालिकालाई पनि यो च साँची नै हो जस्तो लाग्छ। तर एकचोटी विचार गरेर हेर्नोस् त जस्ता खानाले बाँदरलाई त यति नराम्रो असर गर्छ भने साना नानीको कोमल शरीरमा कति नराम्रो असर गर्छ होला।

चाउचाउ, चिजबल्सले त बच्चाहरूको शरीरमा हानि पुर्‍याउँछ भन्ने कुरा त पहिले नै कतिपय वरिष्ठ बालरोग विशेषज्ञहरूले भनिसकेका छन्। तर यस्ता कुराहरू प्राय: प्रमुख सञ्चार माध्यमबाट आएनन्।

कतिपय बालबालिकामा यस्ता जंक फुडले नराम्रा असर ल्याएको वरिष्ठ बालरोग विशेषज्ञ डा. नीलम अधिकारीसँग कुरा गर्दा पाएको जानकारी थियो। यसरी जंक फुडहरू दिँदा बच्चाहरूलाई रक्तअल्पता पनि हुन्छ। कतिपय बच्चाहरू चाहिँ यस्तो खानेकुरा मात्र खाने गर्दा फेरि मोटोपनको सिकार पनि हुन्छन्।

त्यसैगरी अहिले धनी घरका र मध्यमस्तरका बच्चाहरूले पिज्जा खाने चलन काठमाडौंमा बढेको छ। एउटा मध्यम खालको पिज्जामा झन्डै नौ सय क्यालोरी हुन्छ।

जंक फुड र तयारी खानेकुराहरूले स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरा त निर्विवाद नै छ, यसले घरको अर्थ व्यवस्था पनि नराम्रो असर पार्छ। एक त यस्ता जंक फुड किन्ने पैसाले बढी पोषण भएका च्युरा, भटमास, रोटी आदि खानेकुरा बढी किन्न सकिन्छ भने अर्कोतिर जंक फुड खाएपछि बच्चाहरू बिरामी भएपछि त्यसले आमाबाबुलाई पर्ने चिन्ता, डाक्टरकहाँ लैजाने खर्च, औषधि उपचार आदिमा खर्च हुने छँदैछ। बच्चालाई यदि मधुमेहको समस्या भयो भने त यसले त झन् धेरै समस्या पार्छ।

बाहिरका प्याकेटका खानेकुराहरूले स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने कुरा प्राय: सञ्चारमाध्यमबाट बाहिर आउँदैन। एकजना स्वाथ्यकर्मीले भनेका थिए,'यस्ता जंक खानेकुराहरूले स्वास्थ्यमा नराम्रो पार्नेबाहेक जनता ठगिने काम पनि भएको छ।'

विभिन्न खानेकुरामा क्यालसियम, ओमेगा- ३ आदि बढी मिसाएको छ भनेर जनतालाई झुक्याइएको छ। तर न त उपभोक्ता मञ्च नै कोही यस विषयमा बोल्छन्। फलफूलको रस भन्दै पानी मिसाइएको र म्याद गुज्रिएको खानेकुरा पनि जनताले खाएकै छन्। जंक फुडहरू पनि खाएकै छन्। यसले पछि कति नराम्रो असर पार्छ भनेर कसले हेर्ने होला?
तयारी खाना किन्‍ने पैसाले बढी पोषण भएका चिउरा, भटमास, रोटी आदि खानेकुरा धेरै नै किन्‍न सकिन्‍छ। अर्कोतिर तयारी खाना खाएपछि बच्‍चाहरु बिरामी हुँदा यसले आमाबाबुलाई पर्ने चिन्ता, डाक्‍टरकहाँ लैजाने खर्च, औषधि उपचार आदिमा खर्च हुने त छँदैछ।
यसरी पत्रु खाना नखाएर स्वस्थ खाना खान प्रेरणा दिन मैले स्कुल कलेजका विद्यार्थीलाई जानकारी दिन सुरु गरेकी छु। दुई हप्ताअघि नेसनल कलेजका ४० जना विद्यार्थीलाई कसरी पत्रु खाले उनीहरूको वर्तमान र भविष्यमा नराम्रो असर पर्छर कसरी उनीहरू कलेबाट निस्कँदा मुटु र पेटको रोगी भएर निस्कनेछन् र जति पनि पनि जति पैसा कमाए पनि अस्वस्थ भएपछि आनन्दको जीवन जिउन सक्ने छैनन् भनेर बताएँ।

विभिन्न पत्र खाना जस्तो चाउचाउ, मैदाले बनेका खानेकुरा, चिसो पेयपदार्थ, बिस्कुट, पाउरोटी, मिठाई आदिको फोटोसहित तिनीहरू किन महँगो र अस्वस्थकर छन् भनेर जानकारी दिएपछि उनीहरूले मलाई लेखेर दिए, 'पहिले पत्रु खाना मीठो हुन्छ भनेर खाने गर्थ्‍यौ, तर अब त हाम्रा आँखा खुलेको छ, अब त हाम्रो खाजा पनि धेरै जसो स्वास्थ्यमा राम्रो असर पार्ने खाना जस्तो चना, चिउरा, उसिनेको आलु, भटमास, मकै, भुटेको भात खाने छौं।'

विद्यार्थीले लेखेको कागज मसँग छ र ती विद्यार्थीलाई मैले ६ महिनापछि फेरि ती कागज लिएर छलफल गर्नेछु भनेर वाचा गरेकी छु।

खानपानमा सुधार गरेर उनीहरूले आफ्नो मुटु, पेट, कलेजो र मानसिक स्वास्थ्य ठीक राख्नेछन् भन्नेमा विश्वास छ। बाँदरलाई त पत्रु खाना नखाऊ भनेर बुझाउन सकिँदैन, तर मानिसलाई त बुझाउन सकिन्छ नि।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस