Tuesday, February 24, 2015

स्वाइनफ्लुबाट नडराउन मन्त्रालयको आग्रह

काठमाडौँ, १२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वाइनफ्लु `इन्फ्लुइएन्जा ए’ एच वन एन वनबाट धेरै डराउन नपर्ने तर सचेत रहन आग्रह गरेको छ ।
जाडोको समय सकिने र गर्मीयाम सुरु हुने समयमा स्वाइनफ्लु देखापर्ने भन्दै मन्त्रालयले फ्लु नियन्त्रणका लागि आफू मातहतका निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले फ्लु फैलिन नदिन सचेत रहँदै पूर्वतयारीका सबै काम भएको जानकारी दिए । “यो मौसमी रुघाखोकी हो, धेरै डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ” उनले भने ।
भारतमा सो फ्लुका कारण हालसम्म आठ सयको मृृत्यु भैसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सो फ्लुले सङ्क्रमण गरिसकेको प्रमाणित भैसकेको छ ।
नेपालमा सो फ्लुका कारण एक जनाको पनि मृत्यु भएको छैन तर पाँच जनामा भएको पुष्टि भएको छ । विभागले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, जनकपुरजस्ता १० सहर तथा बढी आवातजावत हुने अनि भीडभाड हुने स्थानहरुमा नमूना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको महानिर्देशक डा उप्रेतीले जानकारी दिए ।
साथै नेपाल भित्रिने भारतीय नाका, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्क राख्न प्रबन्ध मिलाउन लागिएको उनले बताए ।
आफू मातहतका सबै अस्पतालहरुलाई छुट्टै बिरामी राख्ने कोठा ‘आइसोलेसन वार्ड’ को तय गर्न विभागले निर्देशन दिइसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनी स्वाइन फ्लुका लागि भनेर छुट्टै बजेट नभएको भन्दै आन्तरिक बजेटबाट काम भैरहेको बताउछन् ।  रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस