Tuesday, February 24, 2015

सुमार्गीको नौ अर्ब पैसा निकाल्न प्रचण्डको दौड

काठमाडौं, १२ फागुन । गत शुक्रबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’का व्यापारिक साझेदार मानिने विवादास्पद व्यापारी अजयराज सुमार्गी लाजिम्पाटस्थित प्रचण्ड निवासमा देखा परे । आफ्नी जेठी सासुको नाममा आलिसान महल किनिदिएर प्रचण्डलाई भित्र्याएका सुमार्गी प्रचण्ड निवास नपुगेको धेरै भएको थियो । शुक्रबार भने उनले करिब ३५ मिनेट प्रचण्ड निवासमा बिताए ।

समाचार स्रोतहरूका अनुसार त्यसबेला उनले विभिन्न बैंकमा रोकिएको करिब नौं अर्ब रुपैयाँ निकाल्ने प्रयासमा भइरहेको प्रगतिबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए भने शनिबार बाग्लुङमा हुने एक पूजा समारोहमा सहभागी भईदिन निम्ता दिएका थिए । पटक–पटक सुमार्गीसँग नाम जोडिएका कारण विवादमा पर्दै आएका प्रचण्डले यसपटक भने सुमार्गीको पूजामा सहभागी हुने निम्ता मान्न अस्वीकार गरे । आफू आन्दोलनको तयारीमा रहेका कारण जान नभ्याउने प्रचण्डले बताए । बैंकमा रोकिएको पैसा निस्कने वातावरण मिलाउन आफूले सक्दो प्रयास गरिरहेको तर सफलता नमिलेको पनि प्रचण्डले जानकारी गराए । त्यसपछि सुमार्गी निराश मुद्रामा प्रचण्ड निवासबाट बाहिरिए । पछिल्ला केही दिनदेखि सुमार्गीको पैसा प्रकरण चर्चामा छ । व्यवस्थापिका–संसद्का समितिदेखि सडकसम्म उनको पैसाकै चर्चा हुन थालेको छ ।
मंगलबार प्रकाशित दृष्टि साप्ताहिक लेख्छ – झन्डै पाँच महिनादेखि नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा थन्किएको साढे तीन अर्ब रुपैयाँ र आउन बाँकी ६ अर्बभन्दा बढी रुपैयाँले सुमार्गी चिन्तामा छन् । पैसा रोकिँदा सुमार्गीलाई भन्दा ज्यादा चिन्ता प्रचण्डलाई भइरहेको लाजिम्पाट निवास स्रोतको दाबी छ । ‘पछिल्ला केही महिनादेखि प्रचण्ड कमरेड बैंकमा रोकिएको पैसा कसरी निकाल्ने भन्नेमा लागिरहनुभएको छ,’ सुमार्गीका प्राय: सबै व्यवसायबारे जानकार प्रचण्ड निकट एक माओवादी नेताले भने, ‘तर जति प्रयास गर्दा पनि पैसा निकाल्न सकिएको छैन ।’
समाचार स्रोतका अनुसार स्वतन्त्र वित्तीय कारोबार गर्ने स्थान ब्रिटिस भर्जिन आइल्यान्डबाट करिब ५ महिनाअघि आएको उक्त रकम निकाल्न राष्ट्र बैंकले अनुमति नदिए पछि सुमार्गी आफैंले प्रयास गरेका थिए । यसअघि पनि त्यसैगरी भर्जिन आइल्यान्डबाट आएको ठूलो परिमाणको रकम सुमार्गीले निकालिसकेका थिए । त्यसैले उनले सोही च्यानल प्रयोग गरेर यसपटक पनि पैसा निकाल्न खोजे । तर उनको प्रयासमा राष्ट्र बैंक बाधक बन्यो । स्रोत भन्छ, ‘पैसा निकाल्न नसकेपछि सुमार्गी पुगे प्रचण्ड गुहार्न । प्रचण्डले सुरुमा त विगतमा जस्तै सहजै काम बन्ने ठानेर चिन्ता नलिन सुमार्गीलाई ढाडस दिए ।’ तर प्रचण्डले पनि यसपटकको गाँठो फुकाउन सकेनन् । राष्ट्र बैंकका अधिकारीहरूलाई प्रभावमा पारेर सहजै पैसा फुत्काउन नसकेपछि प्रचण्डले आफू निकट नेता कृष्णबहादुर महरामार्फत् सरकारका मन्त्रीसम्म कुरा पुर्‍याए । यसकार्यमा प्रचण्डले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अमरेशकुमार सिंहलगायतलाई प्रयोग गर्न खोजे पनि सफल हुन सकेनन् । सहजै पैसा आउने नदेखेपछि प्रचण्डको प्रस्ताव प्रधानमन्त्री सुशील कोइरालासमक्ष नै पुगेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्रीबाट पनि नियमअनुसार रोक्का भएको पैसा निकाल्न सहयोग गर्न नसक्ने भनाइ आएपछि उनी भड्किए ।
स्रोतका अनुसार यो सबै घटनाक्रम गत माघ पहिलो साताका हुन् । सुमार्गीको अर्बौं पैसा निकाल्न सत्तापक्षले सहयोग नगरेपछि भड्किएका प्रचण्डले एकाएक शीर्ष बैठकका सहमति उल्टाउन थाले । माघको पहिलो साता शीर्ष नेताहरूबीच संविधानका अन्तरवस्तुमा गम्भीर छलफल चलिरहेका थिए । ती छलफल सहमतिउन्मुख पनि थिए । सत्तापक्षको सहयोगमा रोकिएको पैसा निक्लनेमा ढुक्क देखिएका प्रचण्डले शासकीय स्वरुपमा लचकता अपनाउन तयार रहेको बताए भने संघीयताको संख्यामा पनि सहमति जुटाउन सकिने धारणा राखे । माघ ४ गते राति यसरी सहमतितर्फ अघि बढेको राजनीतिक पाँच गते एकाएक भाँडियो । अघिल्ला दिनसम्म भएका सहमतिबाट प्रचण्ड पूरै पछाडि फर्किएपछि सत्तासिन दलले संविधान निर्माणको प्रक्रिया अघि बढाउन खोजे, जहाँ प्रचण्डका सभासद् तोडफोडमै उत्रिए । त्यति मात्र होइन, प्रचण्डले संविधानसभाका बैठक र संसद्का समितिका बैठकसमेत बहिस्कार गर्ने घोषणा गरेर सडक आन्दोलनको धम्की दिन थाले । यहीबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट एमाओवादीलाई दश अर्ब रुपैयाँ दिने हो भने संविधानसभाको बैठक अवरुद्ध नगर्ने र संविधान बनाउने सघाउने प्रतिक्रिया आयो । सुरुमा विपक्षी मोर्चाले त्यसलाई एमाओवादीविरुद्धको कटु बचनका रुपमा अथ्र्याइयो । तर अहिले प्रचण्ड पैसाका निम्ति कतिसम्म गिर्न सक्छन् भन्ने मोर्चाकै नेताले थाहा पाउँदै गएपछि ओलीको बोली भविष्यवाणी सरह नै रहेछ भन्न थालिएको छ ।
प्रचण्ड निकट एक नेता सुमार्गीको पैसाका लागि प्रचण्डको दौडधुपबारे जानकारी पाएकै कारण ओलीले दश अर्ब दिए अवरोध हट्ने टिप्पणी गरेको हुन सक्ने बताउँछन् । ‘सुमार्गीको पैसा नरोकिएको हुन्थ्यो भने सायद संविधान निर्माणको प्रक्रिया एमाओवादीको समेत सहभागितामा अघि बढिसकेको हुन्थ्यो,’ हालै यो प्रकरणको जानकारी पाएका मधेसी मोर्चाका एक नेताले भने, ‘हामीले त प्रचण्डले मधेसको एजेन्डा समाएका छन् भन्ने ठानेको त सुमार्गीको धन पो समाएका रहेछन् ।’ स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीसमक्ष अहिले पनि पैसा निकालिदिने हो भने वार्ताको लागि वातावरण बन्ने खबर पठाइरहेका छन् । ‘सायद पैसाको कुरा नमिलेर होला, वार्ताको ढोका अझै नखुलेको प्रतिक्रिया प्रचण्डबाट आउने गरेको,’ ती नेताले भने । प्रधानमन्त्रीले दुई–दुई पटकसम्म वार्ताको लागि लिखित आह्वान गर्दा पनि प्रचण्ड नेतृत्वको मोर्चा वार्तामा गएको छैन । प्रचण्डकै आग्रहअनुसार सरकारले संविधानसभाको बैठक स्थगित गरिदिएको छ । तै पनि वार्ताको लागि वातावरण नबनेको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस