Tuesday, February 24, 2015

दुई किशोरीमाथि एसिड आक्रमण गर्ने अझै भेटिएनन्

१२ फागुन, काठमाडौ ।

प्रहरीले यही फागुन १० गते वसन्तपुरको झोंछेस्थित ‘ए माइनस प्लस ट्युसन सेन्टर’ मा दुई किशोरीमाथि भएको एसिड (तेजाब) आक्रमणमा संलग्न दोषीको खोजी कार्य तीब्र पारेको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले परिसरले यस घटनाका दोषी पत्ता लगाउन विशेष अनुसन्धान टोली परिचालन गरेको बताए ।

उनले भने, “अनुसन्धानको दायरा फराकिलो भएको छ, हामीले यसलाई साघुँरो बनाएर छिट्टै दोषी पत्ता लगाउने छौँ । पीडितका परिवारसँग आवश्यक सोधपुछ पनि भइरहेको छ ।”



सो सेन्टरमा अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा कक्षा १० मा अध्ययनरत् सङ्गीता मगर र सीमा बस्नेत घाइते भएका थिए ।

आक्रमणमा मगरको छाती, पेट र खुट्टा पोलेको र बस्नेतको अनुहार जलेको छ । मगरको वीर अस्पताल र बस्नेतको सिनामङ्गलस्थित काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) ले बालबालिकामाथि बढ्दै गइरहेको हिंसात्मक घटनाबारे संयुक्त टोली बनाई अनुसन्धान कार्यमा सहयोग पु-याउने जनाएको छ । रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस