Saturday, February 14, 2015

तपाईँ कस्तो प्रेमी/प्रेमिका हो ?

लभ नपरुन्जेल पागल प्रेमी, लभ परेपछि सेमी-पागलप्रेमी, बिहे गरेपछि अर्ध-पागलप्रेमी, सन्तान नहुर्कुन्जेल झन्डै पागलप्रेमी, हुर्किसकेपछि त महा-पागलप्रेमि । याद राख्नुहोस्, खुसीमा पागल हुनुको मज्जा नै बेग्लै छ ।

मनोज गजुरेल, हास्यव्यंगकार

म कस्तो प्रेमी हो भन्ने कुरा त मभन्दा बढी र विशुद्ध रूपमा मेरी प्रेमिकाले नै बताउँछिन्, तर म त हालसम्म सिंगल मानिस । अर्को वर्ष प्रेमिका भेट्टाइयो भने सोधेर भन्छु नि है, आफैंले आफैंलाई भन्नुपर्दा बबाल नै हो जस्तो लाग्छ, तर सिंगल हुँदा अहिलेचाहिँ त्यति बबाल छैन ।

राजबल्लभ कोइराला, नायक

मैले त मेसो नै पाइनँ, हुन त म रोमान्टिक मानिस, हामी एक-अर्कालाई असाध्यै माया गर्ने प्रेमी-प्रेमिकाचाहिँ हौं, अब भगवान्ले साथ दिए भने सँगै जीवन बिताउने सपना पनि देखेका छौं, हेरौं के हुन्छ ।

जानकी तारामी मगर, गायिका

हत्तपत्त युवतीसँग नजिक हुन मन नपराउने तर भएपछि चाहिँ धेरै नै आफ्नो सम्झिने अनि उनको हरेक कुरामा हस्तक्षेप गर्ने नराम्रो बानी छ मेरो । त्यसैले होला, म हाल प्रेमिकाबिना एक्लो छु ।

उजन नेम्वाङ, गायक

अब भन्नु नै पर्दा, मेरो प्रेमीचाहिँ छैन तर यदि मेरो प्रेमी भएको भएचाहिँ म रोमान्टिक खालकी प्रेमिकाको भूमिका निर्वाह गर्ने थिएँ ।

सिमा संग्रौला, गायिका

म त प्रेमीलाई असाध्यै माया गर्ने प्रेमिका हुँ, मायामा त्यत्तिकै समझदार पनि छु, अनि रमाइलो स्वभावकी भएकाले प्रेमीसँग हाँसो ठट्टा पनि गर्न उत्तिकै मन लाग्छ ।

नम्रता झा, नायिका

मैले आफ्नो बखान आफैं त गर्न नमिल्ला । मेरी प्यारीसँग सोध्नुभो भने म कस्तो प्रेमी हुँ प्रस्ट थाहा हुन्छ । उनको मोबाइल नम्बर दिन्छु कल गरेर सोध्नुहोला । नम्बर यसप्रकार छ— ९८५१०१२३ हान्नु अनि अन्तिमको दुईवटा नम्बर आफैं थिच्नु ।

अर्जुन पोखरेल, संगीतकार

म त सोझी अनि असल प्रेमिका हुँ, मायालाग्दो स्वभाव छ मेरो, तर रिसचाहिँ उठ्यो भने डरलाग्दै हुन्छु ।

मिलन अमात्य, गायिका

हामी त आध्यात्मिक प्रेमिप्रेमिका हौं, म धार्मिक प्रवृत्तिको प्रेममा विश्वास गर्छु, त्यसैले यसपटक भगवान् शिवसँग प्रेम चलेको खुबै हल्ला पनि भयो । चाँडै भगवान् शिवसँग डेटिङ जादैछु, कहाँ जाने भन्नेमा कन्फ्युज भैरा'छ, कैलाश नै जान्छु कि ?

कोमल वली, गायिका

मेरा त प्रेमिकाहरू नै को-को छन् को-को ? प्रेमिकाहरू नै बिर्सिएको बिर्सियै गर्ने प्रेमी परें म त !

प्रमोद खरेल, गायक

मेरो विचारमा म गज्जबकी प्रेमिका हुँ, उहाँसँग भेट भएको तीन महिनामै मेरो विवाह भयो, त्यसपछि हरेक दिन श्रीमान्सँग भ्यालेन्टाइन डे मनाइरहेकी छु, विभिन्न सरप्राइज र घुमघाममै सीमित मेरो भ्यालेन्टाइन रोमान्स अहिले अलि फरक हुँदै गएको छ । सामाजिक संजालमा धेरै नै प्रेमप्रस्ताव आउँछन्, हेर्दा रमाइलो लाग्छ । अनि यसो सोच्छु विवाह नभएको भए अहिलेको मेरो भ्यालेन्टाइन डे कस्तो हुन्थ्यो होला ? हरेक भ्यालेन्टाइन डेमा अलग अलग ब्वाईफ्रेन्ड पो हुन्थें कि ?

कला पंगेनी, गायिका

म त एकदमै भरपर्दो, विश्वासिलो, रमाइलो गर्न रुचाउने प्रेमी हुँ । आफ्नोपनको आभास गराउन जानेको छु, मायामा रम्ने प्रेमी हुँ म ।

नरेश भट्टराई, भिजे/कलाकार

म त रोमान्टिक, लभिङ, केयरिङ र अन्डरस्टयान्डिङ प्रेमिका हुँ, तर आफ्नो प्रेमीको एउटा मात्र पनि झूट थाहा पाए भने रोमान्स, लभ, केयर, अन्डरस्टयान्ड

बिर्सेर उसलाई भुल्न दुई मिनेट पनि लगाउँदिनँ ।

पूजना स्त्री, नायिका भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस