दलहरुको अलोकप्रियता,संविधान निर्माणमा भएको ढिलाइ र भारतमा ‘हिन्दूवादी’ नरेन्द्र मोदीको उदयलगायतका जोडकोण मा खेल्दै पूर्वराजाले ‘गुमेको स्थान’ खोज्ने अवसरका रुपमा यस्तो जिकिर गरेको दावी गर्नेहरुको संख्या पनि उत्तिकै छ । पूर्वराजा ज्ञानेन्द्रको सन्देशपछि कांग्रेस–एमालेलगायतका तत्कालीन सात दलका शीर्ष नेताहरुले गोप्य समझदारी नभएको बताएका छन् ।
भारतीय जनता पार्टीको निम्तोमा कात्तिक दोस्रो साता नयाँदिल्ली पुगेर फर्केपछि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्थान खोज्न गरेको कसरत पछिल्लो सन्देशमार्फत प्रकट भएको निकटस्थहरुको बुझाइ छ । कतिपयले भने पूर्वराजाको कार्ड फालेर भारतले दलहरुलाई कुनै महत्वपूर्ण विषयमा सम्झौताका लागि चर्को दबाब दिएको विश्लेषण पनि गरेका छन् ।
१९ माघ २०६१ पछि गठित राजाको प्रत्यक्ष सरकारका संचार राज्यमन्त्री श्रीषशमशेर राणाले संविधानसभाले गैरसंवैधानिकताको पराकाष्ठा नाघेपछि पूर्वराजाले सन्देशमार्फत राजाले मुलुकलाई बाटो देखाएको दाबी गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।