पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन राजनीतिक दलहरु र आफूबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित केही सहमति तथा समझदारी भएको बताएका छन्।
६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देशमा पूर्व राजा शाहले यस्तो खुलासा गरेका हुन्।
‘तत्कालीन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहन्छु’, उनले सन्देशमा भनेका छन्। यद्यपि उनले सन्देशमा के कस्ता सहमति र समझदारी भएका थिए भन्ने खुलाइएका छैनन्।
शाहले नेपालको संविधान पूर्णरुपमा आएर मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्दै प्रजातन्त्र दिवसको शुकामना दिएका छन्। उनले ६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र आएको उल्लेख गरेका छन्।
शाहले दलहरुले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै समय बिताउनुभन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडि बढ्नु नै आजको आवश्यकता भएको औंल्याएका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :