Thursday, February 12, 2015

नेपालका साढे दुई लाख बिद्यार्थीलाई सघाउँदै मेस्सी

२९ माघ, काठमाडौं ।  बार्सिलोनाका स्टार लिओनल मेस्सीले नेपालका झण्डै साढे दुई लाख बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउन अभियान थालेका छन् ।
बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको छ । जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ ।


त्यसका लागि युनिसेफको नेपाल कार्यालयले प्राथमिकताका दश जिल्ला छनौट गर्ने बताइएको छ । ‘ती जिल्लाका बिद्यालयहरुमा माध्यमिक तहसम्म खेलकुदका सामाग्री प्रदान गर्ने, अपाङ्ग बालबालिकालाई शिक्षाको पहुँच दिने र सीमान्तकृत र शिक्षाको पहुँच पुग्न नसकेका बालबालिकालाई बिद्यालयसम्म पुर्‍याउने काम हुने छ’ युनिसेफले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
युनिसेफका अनुसार नेपालका १० जिल्लाका झण्डै ४ सय बिद्यालयमा २ लाख ६५ हजार बालबालिका यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
युनिसेफका सदभावदूतसमेत रहेका स्ट्राइकर मेस्सी र अमेरिकी टेनिस स्टार सेरेना विमियम्सले रकम संकलनका लागि अगुवाई गरिरहेका छन् ।
यसका लागि आजै लण्डनमा बिश्वका चर्चित चित्रकारहरुले दिएका चित्रहरुको लिलामी कार्यक्रम हुँदै छ । जहाँ यसका अभियन्ता लियोनल मेस्सीसमेत उपस्थीत हुनेछन् । लिलामीबाट प्राप्त रकम नेपालका बालबालिकाको शिक्षाका लागि खर्च हुने छ ।
विश्वमा लाखौं बालकालिका अझै स्कुल जान नसकेकाले अभियान सुरु गरिएको मेस्सीले बताए । यो अभियान संचालन गर्नुको कारण खुलाउँदै उनले भने-‘हरेक बालकालिकालाई सपना देख्ने र त्यसलाई साकार पार्ने अधिकार छ । यसका लागि शिक्षा अनिवार्य छ ।’
बिद्यालय शिक्षासँगै खेलकुदसमेत प्रर्बद्धन गर्नुको कारण खुलाउँदै मेस्सीले भने- ‘खेलकुदमार्फत् हामी बालबालिकालाई सम्मान , टीमवर्क र मेहेनत संस्कार सिकाउन सक्छौं, खेलकुदकै कारण बालबालिकालाई बिद्यालय जान प्रेरित पनि गर्न सक्छौं ।’

बिश्वका ११ मध्ये एक बालबालिकासम्म बिद्यालय शिक्षाको पहुँच पुग्न नसकेको भन्दै सेरेनाले यसलाई सून्यमा झार्न यो अभियान सुरुवात गरिएको बताइन् । शिक्षाको अभावमा उनीहरुको पूर्ण सम्भावना र क्षमता राष्ट्रले उपयोग गर्न नसकेको भन्दै उनले अभियानले धेरैभन्दा बालबालिकालाई बिद्यालय शिक्षाको पहुँच दिने बताइन् ।
यो अभियानका लागि नेपालमा भने रकम संकलन गरिने छैन् । मेस्सी र सेलेना यो कार्यक्रमका सर्न्दभमा नेपाल आउने/नआउने बिषयमा अहिले नै स्पष्ट भइनसकेको युनिसेफ नेपालले जनाएको छ ।


तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस